महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
जलेश्वर नगरपालिका–२ स्थित मटिहानी चोकमा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय चन्देश्वर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका साहलाई स्थानीयस्तरमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको हो।
दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त बस र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने चालक सत्यनारायण यादव रहेका छन्।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।