काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएका छन्। एक साताअघि फिल्मको एउटा दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रिएर लड्दा उनी घाइते भएका हुन्।
निर्देशक सरोज पौडेलका अनुसार सो दुर्घटनामा परेर अभिनेता बरालको दाहिने हातको नाडीमा गहिरो चोट लागेको छ। “घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा उहाँ दुर्घटनामा पर्नुभएको हो। अहिले उहाँ चिकित्सकको सल्लाहअनुसार आराम गरिरहनुभएको छ,” निर्देशक पौडेलले जानकारी दिए।
दुर्घटनालगत्तै उनलाई कुस्मामा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि पोखरा लगिएको निर्माण पक्षले जनाएको छ। मुख्य अभिनेता नै घाइते भएपछि फिल्मको बाँकी छायांकन तत्कालका लागि स्थगित गर्दै निर्माण टिम काठमाडौं फर्किएको छ।
३५ दिनमा छायांकन सक्ने लक्ष्यका साथ सुरु गरिएको यस फिल्मको काम अब असार १५ गतेपछि मात्र पुनः सुरु हुने निर्देशक पौडेलले बताए।
फिल्म ‘पूर्णबहादुर सारङ्गी’ का निर्देशक सरोज पौडेलले यस फिल्ममा पनि सोही फिल्मका कलाकारद्वय विजय बराल र अञ्जना बराइलीलाई नै मुख्य भूमिकामा अनुबन्धित गरेका छन्। उनीहरूको यो दोस्रो सहकार्य हो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा बराल र बराइलीसँगै विनोद न्यौपानेको पनि मुख्य अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन तथा निर्देशक पौडेलकै कथा रहेको उक्त फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ भने यसको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।