महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित खखना दक्षिणबारी टोलमा चोरीको प्रयास विफल पार्ने क्रममा गोली प्रहार हुँदा एक दम्पती घाइते भएका छन्।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्न खोजिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग भएको प्रतिवादका क्रममा स्थानीय २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार प्रतिवादका क्रममा ती व्यक्तिहरूले चलाएको गोली लागेर दम्पती घाइते भएका हुन्। घाइते दुवै जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको छ।
घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार चोरीको उद्देश्यले घरमा प्रवेश गरेका व्यक्तिहरूसँग भएको प्रतिरोधका क्रममा उक्त घटना भएको हो। प्रहरीले घटनाको सबै पक्षबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ।