झण्डै दुई वर्षपछि ६ जना खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । मकवानपुरको सिस्नेरी क्षेत्रमा पहिरोमा परी ६ जना फुटबल खेलाडीको ज्यान गएको घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

मृतक खेलाडीका परिवारजनले व्यवस्थापकीय कमजोरीका कारण दुर्घटना भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेपछि राखेपले यो कदम चालेको हो।

राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारंगीन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

गत २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी विद्यालय परिसरमा एन्फा एकेडेमीको क्याम्पमा ४० जना विद्यार्थी प्रशिक्षण गरिरहेका थिए। सोही दिन बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधका दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो।

कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएको थियो। बाढीका कारण वात्सल्यदेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ सार्ने क्रममा पहिरोमा परी ६ जना विद्यार्थीको दुःखद निधन भएको थियो।

ज्यान गुमाउनेहरूमा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जन रहेका छन्।

घटनापछि मृतक खेलाडीका परिवारजनले राखेप तथा खेलकुद मन्त्रालयमा निवेदन दिँदै घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न माग गरेका थिए। सोही मागअनुसार मन्त्रालयले आवश्यक अध्ययन तथा छानबिनका लागि राखेपलाई निर्देशन दिएको थियो।

नवगठित उपसमितिले घटनाका कारण, यसमा जिम्मेवार पक्ष र सम्भावित लापरबाहीबारे गहिरो अध्ययन गरी २१ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसअघि पनि यस घटनाको अध्ययन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

यस घटनाले नेपाली खेलकुद क्षेत्रमा ठूलो धक्का पुर्याएको छ र खेलाडीको सुरक्षा तथा प्रशिक्षण स्थलको व्यवस्थापनमा थप सचेतना अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

सम्बन्धित समाचार

सबै