सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा गुडिरहेको स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार अपराह्न करिब ४ बजे विद्यार्थीहरूलाई घर पुर्याएर विद्यालयतर्फ फर्कँदै गरेको पायोनियर एजुकेशन एकेडेमीको को १ ख ३५९९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसबाट विद्यार्थी ओराल्ने क्रममा अचानक गुड्दा यो दुःखद दुर्घटना हुन पुगेको हो।
प्रहरीका अनुसार बस अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किच्दा बसका सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै ज्यान गएको हो।
मृतक बालिका समिक्षाको स्थायी घर सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन भए तापनि उनी हाल सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित आफ्नो मावली घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्।
दुर्घटना लगत्तै फरार भएका बस चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।