सिरहा । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।
लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि तत्काल स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताइएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार, घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ भने घटनाको विषयमा थप विस्तृत अनुसन्धान कार्य जारी रहेको छ।