रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक पूर्वपश्चिम राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्याङ्कर दुर्घटना भई आगलागी भएको छ।
बाराको अमलेखगञ्जबाट सर्लाही जाँदै गरेको १२ हजार लिटर पेट्रोल बोकेको म.प्र ०३-००१ ख ७८११ नम्बरको ट्याङ्कर आज बिहान करिब ५:३० बजे दुर्घटना भएर आगलागी भएको हो।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङ सुरक्षित रहेका छन्।
दुर्घटना लगत्तै लागेको आगो अहिले निभिसकेको छ भने अवरुद्ध भएको राजमार्ग पनि पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।