बर्दिबास । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलामा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेत रहेका छन्।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमिल्सिनाका अनुसार बुधबार साँझ खोला छेउको खेतमा सिँचाइका लागि राखिएको विद्युतीय मोटर बाढीले बगाउन थालेपछि बस्नेत त्यसलाई सुरक्षित स्थानमा सार्न खोलातर्फ गएका थिए। सोही क्रममा अचानक आएको बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए।
बेपत्ता बस्नेतको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको डीएसपी तिमिल्सिनाले जानकारी दिए।
शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।