चपुर : रौतहटको यमुनामाई गाउँपालिका–५ मा बिहीबारदेखि हराइरहेका ६ वर्षीय बालक शुक्रबार बिहान नहरमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार स्थानीय सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम बिहीबार अपराह्न करिब ३ः३० बजे ४–५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ रहेको सडकछेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए।
अन्य बालबालिका घर फर्किए पनि खुसी घर नफर्किएपछि परिवारले आफन्त तथा छिमेकीसँग खोजी गरेका थिए। तर उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
शुक्रबार बिहान बालकका बुबा सरमुला मियाले अस्थायी प्रहरी पोस्ट बमनहरमा मौखिक जानकारी गराएपछि असई सञ्जीप सिंहको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासकै क्रममा बिहान ९:५५ बजे यमुनामाई–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक मृत फेला परेका प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर जीवनकुमार मैनालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।