काठमाडौँमा लुटपाट गर्ने बर्दिबासका एकसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको खोजतलास टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेहरूमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ घर भई हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय चुरन मगर, शुक्लागण्डकी नगरपालिका–५, तनहुँ घर भई गोंगबु बस्ने ३३ वर्षीय राज कुमार गुरुङ, महोत्तरीको बर्दिवास नगरपालिका–३ घर भई नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछापको रामेछाप नगरपालिका–५ ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ ।

साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै