बाढी-पहिरो प्रभावितलाई वीरगन्ज हेल्थ केयरको १० लाख सहयोग

वीरगन्ज । रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख आर्थिक सहयोग गरेको छ ।

शुक्रबार साँझ अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठुलो धनजनको क्षति पुगेकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई यो राहतले केही हदसम्म भए पनि सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन् ।

बाढीमा परी अकाल्मै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अपर्ण गर्दै अस्पताल प्रमुख अन्सारीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

अध्यक्ष अन्सारीका अनुसार विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि वीरगन्जबाट अपेक्षा अनुसार रकम जम्मा हुन सकेको छैन, त्यसैले पनि अरुले जम्मा गरुन भन्ने उत्प्रेरणाको हेतुले औपचारिकरुपमा पैसा जम्मा गरेको हुँ ।

‘अब आशा छ , वीरगन्जबासीले आर्थिक नगरीबाट धेरै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नेछन्,’ उनले भने ।

उनका अनुसार राज्यसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता छ।

‘बाढी पहिरोका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ । सयौं परिवार प्रभावित भएका छन् । यस्तो दुखको क्षणमा हामी मौन बस्नु हुँदैन, सक्दा पनि सक्दैनौ । त्यसकारण प्रभावित नागरिकको उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले १० लाख रुपैयाँ सहयोग गरेको हुँ,’ उनले भने ।

उनले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको उपचार तथा मानवीय सेवाका क्षेत्रमा थप सहयोगको आवश्यक परे सहकार्यलाई निरन्तरता दिने आफू तयार रहेको जनाए । कार्यक्रममा सहभागी पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले यस्तो विपदको समया आर्थिक सहयोग गर्नु भनेको धेरै सराहनीय कार्य रहेको जनाए ।

प्रधानमन्त्री राहत कोषमा वीरगन्ज अहिलेसम्म पछाडि रहेको औल्याउँदै सांसद पन्तले अरु व्यवसायीले पनि सहयोग गर्न आग्रह गरे ।

सम्बन्धित समाचार

सबै