ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा सर्लाहीका युवक पक्राउ

गोडैता । काठमाडौंको ठमेलमा एक युवतीमाथि अस्वाभाविक रूपमा छोएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्दै आएका ३० वर्षीय सालिन साह रहेका छन् । उनलाई प्रहरीले ठमेल क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत भदौ १६ गते राति करिब ८ बजे काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीमाथि साहले ‘ब्याड टच’ गरेको आरोप छ।

घटनापछि युवतीले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दोषीमाथि कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै साहलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ। उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार घटनाको भिडियोमा साह लामो कपाल र दाह्रीसहित देखिएका थिए। तर पक्राउ पर्दा उनी कपाल काटेको अवस्थामा फेला परेका छन्। त्यसकारण प्रहरीले पहिचान लुकाउन वा भेष परिवर्तन गरी भाग्ने प्रयास गरेको हुन सक्ने आशंका गरेको छ।

सम्बन्धित समाचार

सबै