काठमाडौंबाट २२ सय किलो पटकासहित ४ जना पक्राउ, ३ जना सर्लाहीका

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले राजधानीको कागेश्वरी मनोहरा क्षेत्रबाट ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थ (पटका तथा आतिसबाजी) सहित चार जनालाई पक्राउ गरेको छ।

कागेश्वरी मनोहरा क्षेत्रमा गैरकानुनी रूपमा पटका तथा आतिसबाजीजन्य विष्फोटक सामग्री भण्डारण तथा बिक्री-वितरण भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज २९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवस्थित रौतहटका नन्दनलाल राय यादवले सञ्चालन गरेको कवाडी गोदाममा छापा मार्दा ६३ बोरा/कार्टुनमा राखिएको २ हजार २ सय ५० दशमलव १३ किलोग्राम (करिब २२.५ क्विन्टल) प्रतिबन्धित पटका बरामद भएको छ।

बरामद सामग्रीहरूमा च्याम्पियन इलेक्ट्रिक स्पार्कल्स (Champion Electric Sparkles), किङ कोब्रा (King Cobra), क्याप्टेन डिलक्स चक्कर (Captain Deluxe Chakkar), रकेट बम (Rocket Bomb), हाइड्रो बम (Hydro Bomb), फ्लावर पट्स (Flower Pots Special), एभरेष्ट लुनिक रकेट, रोल क्याप्स, कलर कोटी, सिंगल रकेट लगायत विभिन्न ब्रान्डका विष्फोटक पदार्थहरू रहेका छन्।

पक्राउ पर्नेहरुमा रौतहटको गरुडा नगरपालिका-५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा-८ बस्ने ४० वर्षीय नन्दन राय यादव, सर्लाहीको गोडैता नगरपालिका-११, सिसैटिया घर भई काठमाडौंको कागेश्वरी मनिहरा-७ काँडाघारी बस्ने ३३ वर्षीय विजय प्रसाद यादव, सर्लाहीको बागमती नगरपालिका-२ घर भई काठमाडौंको कागेश्वरी मनोहरा-७ काँडाघारी बस्ने ३४ वर्षीय अञ्जय चौधरी र सर्लाहीको बरहथवा नगरपालिका-१३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा-७ बस्ने १९ वर्षीय कोश कुमार साह रहेका छ्न् ।

पक्राउ परेका चारै जनालाई ‘विष्फोटक पदार्थ भण्डारण तथा बिक्री-वितरण गर्न नहुने’ कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट २ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।

सम्बन्धित समाचार

सबै