लालबन्दी । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा सरकारले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा सर्लाहीका एकसहित चार जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार स्वास्थ्य परीक्षणका लागि निर्धारित शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा ‘बायोमेडिकल सर्भिस चार्ज’ उल्लेख गरी अतिरिक्त रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।
त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी र गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी पनि पक्राउ परेका छन्।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका चारै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक जबराले जानकारी दिएका छन्।