वडाध्यक्ष लामाको निजी खर्चमा सडकका खाल्डाखुल्डी मर्मत, ३०० पोलमा बत्ती जडानको काम

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित खतिवडा चोकको मुख्य सडकमा रहेका ठूला खाल्डाखुल्डी पुरिएका छन् । दसैँ–तिहारको समयमा हुन सक्ने दुर्घटनाबाट वडावासीलाई जोगाउने उद्देश्यले वडाध्यक्ष शुक्र लामाले आफ्नै खर्चमा सडकका खाल्डाखुल्डी मर्मत गराएका हुन् ।

वडाध्यक्ष लामाका अनुसार स्थानीय पेमा लामाको घरअगाडिदेखि नेवार टोल हुँदै दक्षिणतर्फका सडकमा रहेका खाल्डाखुल्डी चार महिनाअघिदेखि नै निजी खर्चमा मर्मतसम्भार गर्दै आएका छन् ।

त्यस्तै, ‘वडा उज्यालो अभियान’ अन्तर्गत वडाभरिका करिब ३०० पोलमा जडित बत्ती मर्मत गर्ने काम भइरहेको छ । यसका लागि आवश्यक सेन्सर खरिदलगायत सामाजिक कार्यमा उनले व्यक्तिगत रूपमा करिब एक लाख रुपैयाँ खर्च गरेको जानकारी दिए ।

लामाका अनुसार हालसम्म ३०० पोलमध्ये २७५ पोलका बत्ती बलिरहेका छन् । बाँकी २० देखि २५ वटा बत्ती मर्मत गर्न बाँकी छन् । मर्मत कार्य जारी रहेकाले बाँकी बत्ती पनि छिट्टै सञ्चालनमा ल्याइने उनले बताए ।

मर्मतमा संलग्न कामदारकी आमा बिरामी भएपछि तत्कालका लागि काम रोकिएको छ । भोलिदेखि पुनः मर्मत कार्य सुरु गरिने वडाध्यक्ष लामाले जानकारी दिए । उनले वडाका अन्य स्थानमा पनि सडक मर्मत तथा बत्ती मर्मतको कामलाई निरन्तरता दिने बताएका छन् ।

सम्बन्धित समाचार

सबै