काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अवैध अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्।
प्रहरीका अनुसार गत असोज २१ गते काठमाडौँ महानगरपालिका-११ माइतीघरस्थित सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि खानतलासी गर्दा ‘वानएक्सबेट’ र ‘मोबक्यास’ जस्ता एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) खेलाएको फेला परेको हो।
साथै, अनुसन्धानका क्रममा उनले युएसडिटी लगायतका क्रिप्टो करेन्सीको अवैध कारोबारमार्फत हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसा बराबरको कारोबार गरेको खुलेको छ।
प्रहरीले महतोको साथबाट एक थान मोबाइल समेत बरामद गरेको छ।
पक्राउ परेका महतोविरुद्ध ‘अभौतिक मुद्रा र सट्टेबाजी’ सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।