सर्लाहीमा सुनचाँदी चोरी गर्ने गिरोह पक्राउ, तीन नाबालकसहित चार जना नियन्त्रणमा

गोडैता । सर्लाहीको गोडैता नगरपालिकामा घरको झ्यालबाट प्रवेश गरी सुनचाँदीका गरगहना चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोडैता नगरपालिका–८ का स्थानीय नरेश मिश्राको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना नाबालकसहित चोरीका सामान खरिद गर्ने एक जना गरी जम्मा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पीडित मिश्राको दुई तले पक्की घरको माथिल्लो तलाको सिसाको झ्याल खुला रहेको मौका छोपी चोरहरू भित्र प्रवेश गरेका थिए।

उनीहरूले दराज र सुटकेश फोरेर नगद तथा गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरी भएका गरगहनाको अनुमानित मूल्य ५ लाख ८७ हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले विशेष खोजतलास सुरु गरेको थियो। सोही क्रममा आइतबार उनीहरूलाई नगरपालिका क्षेत्रबाटै पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न गरगहना बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा सुन र चाँदीजस्तो देखिने दुई थान पायल, चार थान जितिया, दुई थान औँठी (एक थान लेडिज), दुई थान ठेसा, लक्ष्मीको फोटो अंकित एक थान सिक्का र एक थान हनुमानी रहेका छन्।

पक्राउ परेका चारै जनामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित समाचार

सबै