हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–८, जगतपुरस्थित सडकखण्डमा आज म्याजिक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
नवलपुर–मलंगवा सडकखण्डमा भएको उक्त दुर्घटनामा परी मोटरसाइकल चालक मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गको नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिक र मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकल आज जगतपुर स्कुलअगाडि एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले दुर्घटनामा संलग्न म्याजिक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।