हरिवन । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका ४८ वर्षीय मेघराज भनिने बाबु थापा पक्राउ परेका छन्।
भदौ २४ गते काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थापालाई सर्लाही प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र नाथ पौडेलका अनुसार थापालाई सर्लाहीको बागमती नगरपालिका–११, मिलनचोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
फरार भएयता थापा भारत तथा नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घरमा आएको विशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।
पक्राउ पर्दा थापाको साथबाट दुई थान पेस्तोल र १५ राउण्ड गोलीसमेत बरामद गरिएको एसपी पौडेलले जानकारी दिए। “उनको साथबाट हतियार फेला परेकाले अब उनीविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान अघि बढाउँदै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छौँ,” एसपी पौडेलले भने।
बाबु थापा चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष हुन्। उनी २०६९ जेठ १८ गते भएको न्यायाधीश रणबहादुर बमको हत्याका मुख्य दोषीमध्ये एक हुन्।
हत्याको घटनापछि फरार रहेका थापालाई प्रहरीले २०७१ सालमा पक्राउ गरी अदालतमा पेस गरेको थियो। अदालतले दोषी ठहर गर्दै उनलाई जन्मकैदको सजाय सुनाएको थियो।