जहिल्यै मधेशलाई बजेटमा उपेक्षित गरेको भन्दै रुष्ट
काठमाडौँ : सर्लाहीबाट स्वतन्त्र निर्वाचित सांसद डा. अमरेश कुमार सिंह हरेकजसो प्रतिनिधिसभा बैठकमा केन्द्रको विषय बन्ने गरेका छन्। राष्ट्रिय महत्वका मात्र नभई स्थानीय विषय र समस्या पनि सदनमा बुलन्द आवाज उठाउँदै आउने गरेका उनले आजको प्रतिनिधिसभा बैठकमा पनि सबैको ध्यान तान्न सफल भए।
विनियोजन विधेयकमाथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर उनले मन्त्रीको खोजी गरेका छन्। सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको भनेर आरोप पनि लगाए।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे।
त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरूले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाए।
‘यहाँ छलफल भइरहेको छ, स्वास्थ्य मन्त्रीज्यू हुनुहुन्न। म प्रश्न गर्न चाहन्छु। स्वास्थ्यमन्त्री मलाई चाहिन्छ। नत्र म यही उभिइरहन्छु’ अमरेशले भने।
त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे। ‘माननीयजी एक छिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुन सक्छ। यही कतै हुनुहुन्छ। उहाँ नआउन्जेल माननीयजीहरू एक छिन धैर्यतासाथ रहनुहोला,’ सभामुख घिमिरेले मुस्कुराउँदै भने।
४० सेकेन्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए। स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस्।’
त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेश प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे। ‘के कारणले मधेसमा रेफरल अस्पताल छैन ?’
उनले मधेशमा काजमा परेका एमबीबीएस डाक्टरहरू काठमाडौँमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन्। सरकारले मधेश प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेश प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गरे।
यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको भनेर आरोप पनि लगाएका छन्।
‘मैले २०७० सालमा पनि भनेको थिएँ, अर्थ मन्त्रालय विदेशीको एजेण्डा मन्त्रालय बन्यो, जनताको प्रतिनिधि मन्त्रालय होइन। नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,’ सिंहले भने।
सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गरे।