चक्रघट्टा गाउँपालिकामा शुक्रबार शोक बिदा

मृतकका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइने

चक्रघट्टा । मकवानपुरको चिसापानीगढीमा भएको विद्युतीय (इभी) हायस दुर्घटनामा परेर एकै वडाका १३ जनाको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार (भोलि) पालिकाभर शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका पालिकावासीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अध्यक्ष यादवका अनुसार शुक्रबार चक्रघट्टा गाउँपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, विद्यालयहरू तथा पालिका मातहतका सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्।

यसैगरी, गाउँपालिकाले शोकसन्तप्त परिवारलाई तत्काल राहतस्वरूप प्रतिमृतक ५० हजार रुपैयाँ अन्तिम संस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको हायस दुर्घटना हुँदा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको दुःखद् निधन भएको थियो।

मृतकहरूको शव व्यवस्थापन तथा पोस्टमार्टम पश्चात् शुक्रबार नै गाउँमा अन्तिम संस्कार गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। एकै गाउँका १३ जनाको अकल्पनीय निधनले सिङ्गो चक्रघट्टा शोकविह्वल बनेको छ।

सम्बन्धित समाचार

सबै