सर्लाहीका १४ जनाको ज्यान गएको दुर्घटना : चालक थकान मुख्य कारण

हेटौँडा । मकवानपुरको भीमफेदी–६, चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले चालकको थकान, क्षमताभन्दा बढी यात्रु, सडकको भौगोलिक जोखिम र यातायात व्यवस्थापनको कमजोरी औँल्याए पनि दुर्घटनाको वास्तविक कारण भने यकिन गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा दुर्घटनाको निर्णायक कारण पहिचान गर्न थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको छ । प्रारम्भिक अध्ययनले चालकको लामो कार्यअवधि र पर्याप्त विश्रामको अभावलाई दुर्घटनाको सम्भावित कारण मानेको छ । तर चालक निदाएको, थकानकै कारण नियन्त्रण गुमाएको वा सवारीमा प्राविधिक खराबी रहेको पुष्टि हुन सकेको छैन ।

गत कात्तिक २६ गते बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी चिसापानी गढीमा सडकबाट तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दुर्घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले स्थलगत अध्ययन, प्रत्यक्षदर्शी तथा सरोकारवालासँगको छलफल र उपलब्ध कागजातका आधारमा प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुझाइएको थियो ।

समितिले दुर्घटनालाई चालकको लापरबाहीमा मात्रै सीमित नगरी मानवीय त्रुटि, सवारीको प्राविधिक अवस्था, सडक पूर्वाधार, यातायात व्यवस्थापन र नियामक निकायको भूमिकासमेत समग्र रूपमा अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

लामो यात्रा, छोटो विश्राम : चालकको थकानमाथि प्रश्न

प्रतिवेदनअनुसार चालक रविशंकर कुमार मण्डलले कात्तिक २४ गते बिहान ५ बजेदेखि काठमाडौँ–मलंगवा सडकमा पटकपटक सवारी सञ्चालन गरेका थिए । कात्तिक २६ गते बिहान १ बजे मलंगवाबाट काठमाडौँ आइपुगेका उनी त्यसको एक घण्टापछि पुनः यात्रु लिएर मलंगवातर्फ लागेका थिए । त्यसको करिब तीन घण्टा ४५ मिनेटपछि भीमफेदीमा दुर्घटना भएको थियो ।

लगातार लामो समय सवारी सञ्चालन, पर्याप्त विश्रामको अभाव तथा शारीरिक र मानसिक थकानले चालकको सवारी नियन्त्रण क्षमतामा प्रभाव पार्न सक्ने समितिको ठहर छ । यद्यपि, दुर्घटनाको समयमा चालक थकित वा निदाएका थिए भन्ने तथ्य पुष्टि नभएकाले त्यसलाई दुर्घटनाको निश्चित कारण मान्न सकिने अवस्था छैन ।

घुम्तीमा नमोडिएको ईभी सिधै जंगलतर्फ

दुर्घटनास्थलको सडक बनावट र प्रत्यक्षदर्शीको बयानले पनि दुर्घटनाबारे प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार घटनास्थलमा करिब ६ मिटर कालोपत्रे सडक र छेउमा १० मिटरभन्दा बढी खुला भाग रहेको थियो । उक्त सडकमा दुईवटा सवारी सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था रहेको समितिले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि ईभीको बत्ती बलिरहेको थियो । विपरीत दिशाबाट अर्को सवारी आएको वा सडकमा कुनै अवरोध रहेको अवस्था थिएन । ईभी घुम्तीअनुसार नमोडिई सिधै जंगलतर्फ गएको थियो ।

यसले चालकले सवारीमाथिको नियन्त्रण गुमाएको हुन सक्ने संकेत गरे पनि नियन्त्रण गुम्नुको कारण भने खुल्न सकेको छैन । समितिले दुर्घटनास्थलको सडक साँघुरो भएकै कारण दुर्घटना भएको भन्न नमिल्ने उल्लेख गरेको छ । यद्यपि, समग्र भीमफेदी–कुलेखानी सडक खण्डको भौगोलिक जोखिम, घुम्ती, सडक सुरक्षा संरचना र संकेत व्यवस्थामा सुधार आवश्यक रहेको औँल्याइएको छ ।

११ जनाको क्षमता, २० जना सवार

दुर्घटनाग्रस्त ईभीमा स्वीकृत क्षमताभन्दा बढी यात्रु सवार रहेको पनि छानबिनबाट पुष्टि भएको छ । चालकसहित ११ जनाको क्षमता रहेको उक्त सवारीमा दुर्घटनाका बेला चालकसहित २० जना सवार थिए । अर्थात् स्वीकृत क्षमताभन्दा नौ जना बढी यात्रु राखिएको थियो ।

क्षमताभन्दा बढी यात्रु हुँदा सवारीको भार, सन्तुलन र नियन्त्रणमा असर पर्न सक्ने समितिले उल्लेख गरेको छ । तर ओभरलोड नै दुर्घटनाको कारण थियो भन्ने प्रमाण भने फेला परेको छैन ।

यस घटनाले यात्रु चढाउने प्रक्रिया, सवारीधनी तथा यातायात व्यवसायीको जिम्मेवारी र सडकमा हुने सवारी जाँचको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ ।

सवारीको प्राविधिक खराबी थियो कि थिएन, यकिन भएन

दुर्घटनाग्रस्त ईभीको ब्रेक, स्टेयरिङ, मोटर तथा अन्य यान्त्रिक र विद्युतीय प्रणालीमा दुर्घटनाअघि कुनै खराबी थियो वा थिएन भन्ने यकिन हुन सकेन । सवारी अत्यधिक क्षतिग्रस्त हुनुका साथै भिरको निकै तल खसेकाले दुर्घटनाअघिको प्राविधिक अवस्था जाँच्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ ।

सवारीको जाँचपास अवधि कायम रहे पनि त्यसले दुर्घटनाअघि सबै प्रणाली दुरुस्त रहेको प्रमाणित नगर्ने समितिको अध्ययनले देखाएको छ । प्राविधिक खराबीका कारण दुर्घटना भएको पुष्टि गर्ने आधार नदेखिए पनि त्यसको सम्भावना पूर्ण रूपमा खारेज गर्न सकिएको छैन ।

टाइम कार्डले मात्रै पुग्दैन, निगरानी प्रणालीमै कमजोरी

समितिले दुर्घटनाको जिम्मेवारी चालकमा मात्रै सीमित नगरी सवारीधनी, यातायात व्यवसायी, सडक पूर्वाधार व्यवस्थापन गर्ने निकाय र नियामक निकायको भूमिकासमेत अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

विद्यमान टाइम कार्ड प्रणालीले चालकको कार्यअवधि, सवारीको गति, यात्रु क्षमता र प्राविधिक अवस्थाको समग्र निगरानी गर्न नसक्ने भन्दै प्रविधिमा आधारित एकीकृत यातायात अनुगमन प्रणाली विकास गर्न सुझाव दिइएको छ ।

त्यस्तै, जोखिमयुक्त सडकको नियमित सुरक्षा परीक्षण, चालकको कार्यअवधि र विश्रामसम्बन्धी व्यवस्था, विद्युतीय सवारी सञ्चालनका प्राविधिक मापदण्ड तथा सडक दुर्घटनाको व्यवस्थित अनुसन्धान प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनामा ज्यान गुमाएका परिवार तथा घाइतेको आर्थिक, सामाजिक र मनोसामाजिक पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्न पनि समितिले सिफारिस गरेको छ । प्रचलित कानुनअनुसार बीमा र क्षतिपूर्ति सुनिश्चित गर्नुका साथै आवश्यकताअनुसार उपचार, राहत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदन तयार, दोषी र दुर्घटनाको कारण अझै अनिश्चित

छानबिन समितिले दुर्घटनाको सम्भावित कारण विश्लेषण गरे पनि चालकको थकान, सवारीको प्राविधिक अवस्था वा सडकको जोखिममध्ये कुन पक्ष निर्णायक थियो भन्ने ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

त्यस्तै, क्षमताभन्दा बढी यात्रु सवार रहेको पुष्टि भए पनि त्यससँग सम्बन्धित कानुनी जिम्मेवारी कसले र कति वहन गर्नुपर्ने भन्ने अन्तिम निर्धारण हुन बाँकी छ । अध्ययनका लागि उपलब्ध समय सीमित भएकाले सबै विषयविज्ञको राय समेट्न नसकिएको समितिले जनाएको छ ।

अर्थात्, १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन प्रतिवेदन तयार भए पनि दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्षको पहिचान गर्ने अनुसन्धान अझै बाँकी छ । दुर्घटना रोकथामका लागि सुझाव दिइएको छ, तर दुर्घटनाको मूल प्रश्न भने अनुत्तरित नै छ ।

सम्बन्धित समाचार

सबै