काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा हुँदा मधेस प्रदेशका तीन जिल्लामा प्रहरी नेतृत्वको हेरफेर भएको छ । बारामा कुमार विक्रम थापा र सप्तरीमा रूपक खड्कालाई नयाँ प्रहरी प्रमुखका रूपमा खटाइएको छ भने पर्सामा यसअघि काजमा कार्यरत पवनकुमार भट्टराईको दरबन्दी कायम गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार गरेको सरुवासम्बन्धी निर्णयअनुसार बाराका प्रहरी प्रमुख कुमार विक्रम थापा नेपाल प्रहरी अस्पताल, महाराजगन्जबाट सरुवा भएका हुन् । त्यस्तै, सप्तरीका प्रहरी प्रमुखको जिम्मेवारी पाएका रूपक खड्का यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टंगालमा कार्यरत थिए ।
पर्सामा भने यसअघि काजमा खटिएका पवनकुमार भट्टराईको दरबन्दी कायम गरिएको छ । उनी यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
यसैगरी, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत मानबहादुर राई कोशी प्रदेश प्रहरी गण, विराटनगर सरुवा भएका छन् । उनको स्थानमा प्रेमबहादुर शाहीलाई सरुवा गरिएको छ । तर, शाहीको काज भने प्रहरी प्रधान कार्यालयको कार्य विभाग, नक्सालमा रहने उल्लेख छ ।
यस्तै, धनुषाको ढल्केबरस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत भुवनेश्वर प्रसाद साह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज सरुवा भएका छन् । उनको स्थानमा पाल्पामा कार्यरत दिपेन्द्र पञ्जियार थारूलाई पठाइएको छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटको जिल्ला प्रहरी प्रमुखमा भने कुनै परिवर्तन भएको छैन ।