काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसमा वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, नायब सुब्बा, खरिदार, तत्कालीन वडाध्यक्ष, वडा सचिव तथा जग्गा आफ्नो नाममा पार्ने व्यक्तिहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
साविक सोकनाहा गाविस वडा नम्बर २(ख) को कित्ता नम्बर ६२ मा रहेको ११ कठ्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा थियो। तर, मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा उक्त जग्गा किशोरी धामी थारू र भोला धामी थारूको नाममा रहेको झुट्टा विवरण तयार गरी नामसारी र बेचबिखन गरिएको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट वास्तविक जग्गाधनीको विवरण लुकाएर नभएको जग्गाधनी खडा गर्ने, सरकारी अभिलेखमा अनधिकृत थपघट तथा हेरफेर गर्ने र फर्जी लिखत तयार पार्ने कार्य भएको पुष्टि भएको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेश कुमार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम सजाय माग गरिएको छ।
त्यस्तै, गलत विवरणका आधारमा सिफारिस दिएको आरोपमा तत्कालीन वडा सचिव राम गुलाम राय र वडाध्यक्ष कपिलेदेव चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
जग्गा आफ्नो नाममा पार्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई मुख्य कसुरदारको मतियार ठहर गर्दै मुख्य कसुरदारसरह सजाय माग गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिए।