सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोध गरिएको छ । हिन्दु सम्राट सेनाका कार्यकर्ताले मलंगवामा सिंहविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाही आइपुगेका सांसद सिंहलाई साँझ मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सिंहको पुत्लासमेत जलाएका छन् ।
हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सेनाका कार्यकर्ताले विरोध जनाएका छन् ।
प्रदर्शनकारीहरूले कार्यकर्ता पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
यता, पदयात्राका क्रममा सर्लाही आएका सांसद सिंह आज राति सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम छ । रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार सिंहको पदयात्रा भोलि बिहान ७ः३० बजेदेखि पुनः सुरु हुनेछ ।