बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमायाको शव फेला

आमालाई बगाएको थापा पाएपछि साउदी हिँडेका छोरा फर्किए

निजगढ : मकवानपुरको बकैया खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ।

बारा कोल्हवी नगरपालिका-२ स्थित बकैया खोलाको किनारमा बकैया गाउँपालिका-६ की ३६ वर्षीया नानुमाया तितुङको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बारा निजगढबाट घर फर्कने क्रममा आइतबार खोला तर्ने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भएकी थिइन्। आइतबारदेखि नै आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरिरहेका थिए।

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार श्रीमान् र छोराको साथमा गाडी चढेर उनी निजगढ गएकी थिइन्।

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तका बास बसेकी नानुमायाले आइतबार बिहानै छोरालाई बिदाइ गरेकी थिइन्। राजकुमार भने जहाज चढाउन छोरोसँगै काठमाडौं जाने तयारीमा जुटेका थिए।

नानुमाया हिँडेरै घर फर्किएकी थिइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगाएको थियो।

उता राजकुमार पनि छोरो लिएर काठमाडौं जान नभ्याउँदै कुकुरको टोकाइबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर सुनेका थिए। सोमबार राति साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँ फर्किएका थिए।

कान्तिपुरबाट

सम्बन्धित समाचार

सबै