लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–१७ र वडा नम्बर १६ जोड्ने सडकमा आज दिउँसो गुडिरहेको स्कुटरमा एक्कासि आगलागी भएको छ।
स्कुटरमा परवानीपुरबाट लालबन्दी आउँदै गर्दा सोही नगरपालिका–१५ का सुमन लामाले चलाएको स्कुटरमा आज आइतबार दिउँसो साढे २ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले सर्लाही न्युजलाई जानकारी दिए।
बागमती प्रदेश–०२–०२५ प ६७८१ नम्बरको उक्त स्कुटर स्टार्ट बन्द भएर पुन स्टार्ट गर्न खोज्दा एक्कासि आगलागी भएको थियो।
होण्डा कम्पनीको १२५ सिसीको उक्त स्कुटरमा आगो बलेको देखेपछि स्थानीयले मिलेर निभाउने प्रयास गरे पनि स्कुटर पूर्ण रूपमा क्षति भएको छ।
चालकलाई भने कुनै क्षति नभएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।