लालबन्दी : मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यतिबेला मधेश प्रदेशमा व्यस्त छन्।
उपनिर्वाचनको प्रसार प्रसारका दौरान अहिले उनी महोत्तरीमा घरदैलो गरिरहेका छन्। महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग शनिबार घरदैलोमा हिँडेका थिए।
त्यसक्रममा शर्माले कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर-२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई भोट हाल्न आग्रह गरे।
उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेस उम्मेदवारलाई चुन्न आग्रह गरेका हुन्।
रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा छन्। जहाँ दुई हजार एक सय ४१ जना मतदाता छन्।
यहाँका वडाध्यक्ष मुकेशकुमार यादवको हत्या भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित मुकेश सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको थियो।
दुर्घटनापछि र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो।
उक्त दुर्घटनापछि माओवादी केन्द्रले मुकेशको हत्या भएको हुन सक्ने भन्दै सिआइबीले अनुसन्धान गर्नुपर्ने भन्दै व्यापक दबाब दिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुकेशकै साथीहरू सञ्जीव र दिलीपलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।
‘मधेशमा जनमत पार्टी सरकारको विकल्प खोजिन्छ’
त्यसैगरी उपनिर्वाचनकै प्रचारप्रसारमा सिरहा पुगेका शर्माले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारको विकल्प खोजिने पनि बताएका छन्।
लहानमा शनिबार आयोजना गरिएको एक कार्यक्रममा जनमत नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाइने बताएका हुन्।
सत्तारुढ गठबन्धन दलबीच भएको सहमतिअनुसार जनमतले मधेश सरकारको नेतृत्व लिएको ६ महिना हुन लागेको उनले बताए । जनचाहनाअनुसार काम हुन नसकेको बताउँदै उनले अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थाल्ने बताए।
जनमतले सहयोग नगरे पनि कांग्रेस, एमाले र लोसपा मिलेर सहज रूपमा सरकार बनाउन सकिने उनको भनाइ थियो।