सर्लाही : नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन्।
आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दियो।
दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिज खेल्न पाउने कि नपाउने यकिन भइसकेको छैन।
रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग नियमित संवाद गरिरहेको छ।आईसीसीबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको स्रोतले बतायो।
टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ। आईसीसीबाट स्वीकृति पाउने विश्वाससहित क्यानले सन्दीपलाई यूएई पठाएको हो। नेपालले बिहीबार र सोमबार यूएई तथा शुक्रबार पीएनजीविरुद्ध खेल्दैछ।
उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन्।
सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि उनलाई यूएई जान बाटो खुलेको हो।