सिन्धुली – भोजपुरबाट समातेर काठमाडौँ ल्याउँदै गर्दा प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझ ६ बजेतिर सिन्धुलीको खुर्कोटबाट फरार भएका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई पक्राउ गरिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए। एसपी काफ्लेले भने, ‘भागेको ८ घण्टामा पक्राउ गरेर काठमाडौँ पठाएका छौँ।’
खुर्कोट नजिकै अँधेरी पुलमा शौच गर्ने बहानामा २५ वर्षीय ग्लोरी भागेका थिए। जंगलतर्फ भागेका उनी सर्लाही जाँदै गरेको ईभी गाडीमा चढेर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। उनलाई सिन्धुलीगढीमा खटिएको टोलीले पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए।
अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ।
भोजपुर प्रहरीले उनलाई ७ माघमा भोजपुरको पौवादुम्बा गाउँपालिका–३ बाट पक्राउ गरेर काठमाडौँ ल्याउँदै थियो। भोजपुर प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको छ।