रौतहटः सरस्वती पूजाका नाममा ढाट तेर्स्याएर चन्दा उठाउँदै विद्यार्थी

रौतहट : जिल्लाको भित्री गाउँका बाटोमा यतिखेर स्थानीय विद्यार्थीहरूले ढाट तेर्स्याएर सरस्वती पूजाका नाममा चन्दा उठाउन सुरु गरेका छन् ।

उनीहरू ढाट तेस्याएर सवारी साधन रोकेर जबरजस्ती पैसा असुलिरहेको र पैसा नदिए स्वाभाविक रूपमा आवागमनमा बाधा पुर्‍याइरहेको सवारीधनीहरूले गुनासो गरेका छन् ।

आगामी माघ २१ मा श्रीपञ्चमीको अवसरमा हुने सरस्वती पूजाका लागि विद्यार्थीहरूले चन्दा माग्न थालेका हुन् । पूजाको प्रसाद र मूर्ति बनाउन भन्दै उनीहरूले सानाठूला सवारीसाधन रोकेर जबरजस्ती पैसा माग्ने गरेका हुन् । पैसा नदिए सवारी जानै दिँदैनन् । ढाट तेर्स्याउनेमा सानाठूला विद्यार्थी सहभागी छन् । यतिखेर यहाँका केही विद्यालयका विद्यार्थी पठनपाठन छाडेर ढाट तेर्स्याएर चन्दा उठाउन लागेका हुन् ।

चन्द्रपुर नगरपालिकास्थित जुडीबेला माविका शिक्षक रत्न अधिकारीले सरस्वती पूजाका नाममा चन्दा उठाउने संस्कार गलत भएको बताए । ‘विगतमा चन्दा उठाउने गर्थे,’ उनले भने, ‘पछिल्लो समय हराउँदै गएको थियो । फेरि भित्री गाउँमा ढाट तेर्स्याएर उठाउन थालियो । यसलाई रोक्नु पर्छ ।’

विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकले चन्दा उठाउन नहुने भने पनि विद्यार्थीहरूले मानेका छैनन् । मुख्य बाटोहरूमा समेत उनीहरू ढाट तेर्स्याएर चन्दा उठाइरहेका छन् । यस्तो बेला सवारी दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र अधिकारीले बताए ।

तस्वीर/समाचारः कान्तिपुर दैनिक अनलाइन

सम्बन्धित समाचार

सबै