रौतहट । रौतहटको गढीमाई नगरपालिका–७, धरमपुरमा ट्याक्टरको ठक्करबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ। बुधबार बिहान भएको उक्त दुर्घटनामा स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवको मृत्यु भएको हो।
धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना ६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका बालक रितिकलाई ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकलाई तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान साढे १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्। फरार चालकको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
प्रहरीले उक्त ट्याक्टरका धनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा राखिएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको कमाण्डमा प्रहरी टोली खटिएको छ।