रौतहटमा २८ वर्षीय युवक पोखरीमा मृत फेला

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१, बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

स्थानीय रामहरि दासका अन्दाजी २८ वर्षीय छोरा राजेश दास आफ्नै गाउँका अरविन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब १० बजेर ५ मिनेटको समयमा स्थानीयवासीले पोखरीमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियाबाट प्रहरी नायब निरीक्षक विनोद पासवानको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोली घटनास्थल पुगेको थियो।

युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा यसका पछाडि अन्य कुनै शंकास्पद कारण छ भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

घटनाको यथार्थ विवरण पोष्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै