बर्दिबास : महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो।
अचानक बेस्सरी पेट दुख्यो भनेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो।
उपचार क्रममा गएराति साढे २ बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षत्रीले जानकारी दिए। महरा पहिलेदेखि नै ग्यासको औषधि सेवन गरिरहेका थिए।
२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो। त्यसबेलादेखि फरारका सूचीमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो।