सर्लाही : शुक्रबार पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
दुर्गा प्रसाई नेतृत्वको राजावादीहरूले निकालेको प्रदर्शनका कारण भाटभटेनी तोडफोडसमेत भएको थियो। तोडफोडपछि लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूबाट चैत १६ र १७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई सामानसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने सबै जना उक्त भाटभटेनी आसपासकै रहेका पाइएका छन् ।
पक्राउ पर्नेहरूमा धनुषा घर भई कोटेश्वर बस्ने आशीष साह, सर्लाहीको बरहथवा नगरपालिका-१६ घर भई कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महतो, नरेफाँट नै बस्ने भारत घर भएका रवि रञ्जन कुमार, नुवाकोट घर भई कोटेश्वर बस्ने सुशीला कुमाल, सुनसरी धरान घर भएकी कोटेश्वर बस्ने एलिसा राई, कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोक घर भई नरेफाँट बस्ने निर्मला कार्की, सिन्धुली घर भई नरेफाँट बस्ने चित्रमाया बस्नेत र सिन्धुली तीनपाटन घर भई नरेफाँट नै बस्ने सुस्मिता बराल रहेका प्रहरीले जानकारी दिएको छ ।