लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस र एम्बुलेन्स एकापसमा ठोक्किँदा एक जना सामान्य घाइते भएका छन्।
शनिबार साँझ ५ बजे ना ३ ख ९४६६ नम्बरको यात्रुबाहक र प्रदेश २–०३–००१ झ ००५७ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किएका हुन् ।
बस चालक महोत्तरीको मनरा सिसवा नगरपालिका–२ का ४३ वर्षीय रुपेश ठाकुर हुन भने रौतहटको बिन्दाबन नगरपालिका–७ का ३५ वर्षीय पिङ्कु प्रसाद पालले एम्बुलेन्स चलाएका प्रहरीले जनाएको छ।
रानीगञ्जबाट लालबन्दीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको एम्बुलेन्सबिच ठक्कर हुँदा एम्बुलेन्स चालक पालको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनलाई सामान्य उपचारपश्चात डिस्चार्ज गरिएको छ।
लालबन्दी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुक्तीप्रसाद पुनहरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। यात्रुबाहक बसमा रहेका अन्य यात्रुहरू सकुशल रहेका छन्।
घटनापछि बस चालक र सवारीसाधनलाई कागजपत्र राखी जेठ १८ गते छलफलका लागि बोलाइएको र बसलाई छाडिएको प्रहरीले जनाएको छ। भने, एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।
दुर्घटना स्थल ईलाका प्रहरी कार्यालय लालबन्दीबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको जनाएको छ।