धनकौल : सर्लाहीको धनकौल गाउँपालिकामा सेनेटरी प्याड खरिदका नाममा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ।
विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारीका बेला प्रयोग गर्न वितरण गर्ने उद्देश्यले खरिद गरिएको सेनेटरी प्याडमा जनप्रतिनिधिहरुले ठूलो घोटाला गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ११ हजार १७० प्याक सेनेटरी प्याड खरिद गरेको थियो।
प्याडको अधिकतम खुद्रा बजार मूल्य प्रति प्याक ४५ रुपैयाँ रहेकोमा पालिकाले थोकमै प्रति प्याक ७३ रुपैयाँ ३२ पैसाको दरले खरिद गरेको देखिन्छ। सोहीअनुसार पालिकाले कुल ८ लाख १८ हजार ९८४ रुपैयाँ तिरेको छ। यथार्थ बजार मूल्यअनुसार खरिद गरिएको भए ५ लाख २ हजार ६५० रुपैयाँमै सेनेटरी प्याड किनिन सक्ने हुँदा गाउँपालिकाले ३ लाख ५ हजार १६५ रुपैयाँ अनावश्यक रुपमा बढी तिरेको तथ्य फेला परेको हो।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रचलित बजार मूल्यभन्दा धेरै मूल्य तिरेर खरिद गरिएको उल्लेख गर्दै यसलाई स्पष्ट अनियमितता ठहर गरेको छ। स्थानीय सरकारको शिक्षा शाखाले सेनेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन र मूल्य प्रतिस्पर्धाको सिद्धान्तको समेत उल्लंघन गरेको देखिएको छ।
यस अनियमितता सम्बन्धमा हालका शिक्षा शाखा प्रमुख अरुण प्रजापतीले आफू सो आर्थिक वर्षमा जिम्मेवार पदमा नरहेको र त्यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। तर किशोरीको स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत भ्रष्टाचार भएको समाचार बाहिरिएपछि स्थानीयस्तरमा जनप्रतिनिधिप्रति व्यापक आक्रोश छ।