हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका–१, जानकी नगर टोलमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।
स्थानीय दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव आइतबार दिउँसो पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
परिवारका अनुसार सुशान्त बिहान करिब १० बजे घरबाट अचानक हराएका थिए। खोजतलासका क्रममा राति ११:३५ बजे घरदेखि करिब ५०० मिटर दक्षिण–पूर्वतर्फ सडक निर्माणको लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा उनको शव फेला परेको थियो।
शव फेला परेको जानकारी राति ११:४५ बजे इलाका प्रहरी कार्यालय (इप्रका) मुर्तियामा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
खबर प्राप्त हुनेबित्तिकै प्रहरी नायब निरीक्षक उदय कुमार झाको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा बालकको शव प्रादेशिक अस्पताल मलंगवा पठाइएको हो।
उक्त दुर्घटना भएको स्थान इप्रका मुर्तियाबाट करिब ५ किलोमिटर पूर्व–उत्तरतर्फ पर्छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र सोमबार बिहान कानुनी प्रक्रिया अनुसार मुचुल्का उठाइने प्रहरीको भनाइ छ।