सर्लाहीमा रक्सीको विवादमा छुरा प्रहार, तीनजना घाइते

आरोपी भारतीय नागरिक फरार, प्रहरीद्वारा खोजी कार्य तीव्र

हरिवन । सर्लाहीको बलरा नगरपालिकामा रक्सी खाने विषयमा भएको विवादले उग्र रुप लिँदा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गरेको छ । शनिबार राति भएको सो घटनामा तीन जना स्थानीय युवा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका–१ मा शनिबार राति करिब ९ बजे घटना भएको हो । दुई समूहबीच रक्सी खाने विषयमा सामान्य विवाद सुरु भएको र पछि त्यसले झडपको रुप लिएको थियो । सोही क्रममा एक समूहले अर्को समूहका युवाहरूमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट बलरा–१ बस्ने २५ वर्षीय धर्मविर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका छन् । घाइतेमध्ये पेटमा चोट लागेको धर्मविरको अवस्था मध्यम छ । दशरथको घाँटीमा र अमितको दाहिने हातमा सामान्य चोट लागेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी छन्कीटोलाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तत्कालै बलरास्थित धुलिखेल अस्पतालमा उपचारका लागि पठाएको थियो । हाल तीनै जना उपचारपछि डिस्चार्ज भइसकेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

आरोपी फरार, खोजी तीव्र

घटनामा संलग्न भारत घर भएका अमन सिंह, विकास सिंह, अटल राय र अभिषेक सिंह फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने भएकाले उनीहरु भारततर्फ भागेको प्रहरीले आशंका गरेको छ ।

फरार अभियुक्तहरूको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक उज्ज्वल कार्की र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक अशोक आले मगरको कमाण्डमा विशेष प्रहरी टोली परिचालन गरिएको छ ।

टोलीले फरार व्यक्तिहरुको खोजी तथा घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

सबै