लालबन्दी : रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव घटनाको झण्डै ३० घण्टापछि फेला परेको छ।
सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी हुने क्रममा बागमती नदीमा नुहाउँदा यादव बेपत्ता भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर, सशस्त्र प्रहरी बल समनपुर क्याम्पका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले लगातार खोजी कार्य गरेका थिए।
मंगलबार दिउँसो समनपुर पुलदेखि करिब एक किलोमिटर दक्षिणतर्फ उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यले जानकारी दिएका छन्।
मृतक यादव इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी गजेन्द्र यादवका छोरा हुन्।