स्वास्थ्य सेवा प्रवाह: लालबन्दी प्रथम, रामनगर गाउँपालिका पुछारमा

लालबन्दी : सर्लाही जिल्लाका स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा लालबन्दी नगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गरेको छ। जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिकाले ९९ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाले प्रशंसा-पत्रसहित सम्मान गरेका छन्।

प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका कारण लालबन्दी नगरपालिका जिल्लाका अन्य स्थानीय तहमध्ये उत्कृष्ट भएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

लालबन्दी नगरपालिकापछि विष्णु गाउँपालिका ९६ दशमलव ७० अङ्कसहित दोस्रो तथा हरिपुर नगरपालिका ९६ दशमलव २० अङ्कसहित तृतीय स्थानमा आएका छन्।

जिल्लास्तरीय वार्षिक समीक्षामा क्रमशः हरिवन नगरपालिकाले ९५ दशमलव ४०, बसबरिया गाउँपालिकाले ९४ दशमलव २०, चक्रघट्टा गाउँपालिकाले ८८ दशमलव ९०, पर्सा गाउँपालिकाले ८८ दशमलव ६०, ईश्वरपुर नगरपालिकाले ८८ दशमलव १०, धनकौल गाउँपालिकाले ८८ दशमलव १०, बागमती नगरपालिकाले ८४, चन्द्रनगर गाउँपालिकाले ८३ दशमलव ९० र बरहथवा नगरपालिकाले ८३ दशमलव ३० अङ्क प्राप्त गरेका छन्।

त्यस्तै, मूल्याङ्कनमा ब्रहमपुरी गाउँपालिकाले ८० दशमलव ९०, मलंगवा नगरपालिकाले ८० दशमलव ८०, गोडैता नगरपालिकाले ७८ दशमलव ३०, बलरा नगरपालिकाले ७७ दशमलव ८०, कौडेना गाउँपालिकाले ७७ दशमलव ८०, हरिपुर्वा नगरपालिकाले ७१ दशमलव ७०, कविलासी नगरपालिकाले ७० दशमलव ७० अङ्क पाएका छन्। रामनगर गाउँपालिका भने ७० अङ्कसहित २० औँ अर्थात अन्तिम स्थानमा रहेको छ।

जिल्लास्तरीय मूल्याङ्कन समितिले विभिन्न सूचकका आधारमा स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेका सेवाको मूल्याङ्कन गरी सो प्रतिवेदन तयार पारेको स्वास्थ्य कार्यालय सर्लाहीले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

सबै