पाल्पा : तीजमा नाच्ने क्रममा भएको विवादपछि पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका-२, घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिटबाट २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो।
कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुनः कुटाकुट भएको बताइएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।