सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मलंगवा : सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणका क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधि सेवन गराउन लागेको हो ।

परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्टा गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकालाई एउटा समूहमा राखेर परीक्षण गरेको हो ।

टोलीका अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट लिएको ३०० नमूनामध्ये २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो ।

त्यसमध्ये पनि राति १२ बजे लिएको २८ जनाको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिए । जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको पाइएको छ ।

‘हात्तीपाइलेका नयाँ बिमारी फेला परेका पालिकामा विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीकै उपस्थितमा आम औषधि खुवाउने काम भइरहेको छ,’ संयोजक झाले भने ।

‘अभियानअन्तर्गत सुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई औषधि खुवाउने तौरतरिकाबारे प्रशिक्षण दिइनेछ, त्यसपछि उहाँहरूलाई घरघरमै पठाएर औषधि खुवाउन लगाउने गरिएको छ । मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन सुरु गरिसकिएको र अन्य पालिकाहरूमा तालिम चलिरहेको छ’, स्वास्थ्य कार्यालय प्रमुख झाले भने । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षदेखि माथि उमेरका सबैलाई सेवन गराइने उनले बताए ।

बाह्र स्थानीय तहका ८० प्रतिशतले हुन आउने चार लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत बुधबार हात्तीपाइले रोग उन्मूलनसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा शशि बडेलका अनुसार हात्तीपाइले रोगले शरीरमा गम्भीर क्षति पुर्याउने भए पनि समयमै र नियमित औषधि सेवनले यसको रोकथाम गर्न सकिने छ ।

डा बडेलका अनुसार एक प्रतिशतभन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ । हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भएपछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकको भनाइ छ ।

सम्बन्धित समाचार

सबै