सर्लाही : जिल्लाको हरिवनमा आफ्नो पार्टीबाट वडाध्यक्षका उम्मेदवारलाई सुनियोजित रुपमा विष खुवाएर मार्ने षडयन्त्र गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनको कारण हरिवन बजार तनावग्रस्त बनेको छ।
माओवादी कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजामसहित नाराबाजी गरिरहेका छन्। माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।
उनीहरूले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।
आइतबार दिउँसो घरदैलोको क्रममा माओवादी केन्द्रको वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहार सहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर ख्वाएको माओवादी केन्द्रले आरोप लगाएको छ।
घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाई खाएपछि हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका छन्। षडयन्त्रपूर्वक मिठाईमा विष राखिएको माओवादीले आरोप लगाएको छ।
हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखार सहितको टोली पूर्वनिर्धारित कार्यक्रम अनुसार आज दिउँसो हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए। केही स्थानीयले उम्मेदवारहरूको टोलीलाई मिठाई तथा कोल्ड ड्रिङ्सले स्वागत गरेका थिए।
उक्त घरदैलोमा सहभागी माओवादीका नगर कमिटी सचिव गौरी महतोका अनुसार मेयर उम्मेदवार बुढाथोकीले भने स्वास्थ्यको कारण देखाउँदै मिठाई खाएनन् र अलि चाँडै त्यहाँबाट हिँडे तर मिठाई खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढलेका थिए। मिठाई खुवाउने ती स्थानीय एमाले समर्थक भएका उनको दाबी छ।
इस्तेखारसँगै अन्य उम्मेदवारहरू पनि छटपटाउन थालेपछि सबैलाई हरिवनकै स्वाभिमान अस्पतालमा लगिएको थियो। बिरामी भएका ७ जनामध्ये ५ जनाको प्राथमिक उपचारपछि अवस्थामा सुधार भयो। तर, वडाध्यक्ष इस्तेखारसहित दुई जनाको अवस्था गम्भीर देखियो। स्वाभिमान अस्पतालले उनीहरूलाई त्यहाँ उपचार हुन नसक्ने बताएपछि वीरगन्ज लगिएको छ।
माओवादी कार्यकर्ताले एमालेले आफ्ना उम्मेदवारलाई मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ। एमालेका मेयर उम्मेदवार निवर्तमान मेयर गणेश प्रसाईं र ११ नम्बर वडाका निवर्तमान वडाध्यक्ष शेख मेहबुब रेजाको योजनामा यो षडयन्त्र भएको माओवादीको आरोप छ।
एमालेले यस घटनाका विषयमा प्रतिक्रिया दिएको छैन। एमालेका मेयर उम्मेदवार गणेश प्रसाईं घरदैलोका क्रममा रहेकाले सम्पर्कमा आउन सकेनन्। उनी निकट स्रोतले चाहिँ एमालेको षडयन्त्रणमा घटना भएको आरोप खण्डन गरेको छ।
“हामीमाथि लगाइएको आरोप मिथ्या हो,” एमालेका एक नेताले भने, “उनीहरूलाई कसले के खुवायो भन्ने हामी जिम्मा लिन सक्दैनौँ। गर्मीले बेहोस भएका पनि हुन सक्छन्।”
सो घटनाको केहीअघि माओवादीका मेयर उम्मेदवार बुढाथोकी र तत्कालीन विप्लव माओवादीका दिवङ्गत नेता कुमार पौडेलका भाइ हरिराम पौडेलबीच लफडा भएको थियो। कुमारकी श्रीमती अहिले बाग्मती नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार छिन्। कुमारको परिवारले उनको हत्यामा माओवादीका बुढाथोकीको हात रहेको आरोप लगाउँदै आएको छ।
आज माओवादीको घरदैलोअघि हरिवनमा भेटिएका हरिरामलाई माओवादी कार्यकर्ताले हातपात गरेका थिए। स्वयम् बुढाथोकीले पनि आफूमाथि हात छोडेको भन्दै हरिरामले फेसबुकमा स्टाटस लेखेर पोस्ट गरेका छन्।
सोही घटनालाई ढाकछोप गर्न माओवादीले विषको प्रपोगण्डा निकालेको एमालेका एक स्थानीय कार्यकर्ताले बताए।
इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर मुकेश ताम्राकारले घरदैलोका क्रममा माओवादीका केही उम्मेदवार बिरामी भएको रिपोर्ट आएको बताए। तर, के कारण हो भने अस्पतालले औपचारिक जानकारी नगराइसकेको उनको भनाइ छ।
“हामीलाई आएको जानकारीअनुसार अस्पताल आउँदा दुई जना बेहोस हुनुहुन्थ्यो भने पाँच जना सामान्य बिरामी हुनुहुन्थ्यो,” ताम्राकारले भने, “यस विषयमा हामी थप बुझिरहेका छौँ।”
हरिवन बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी खटाईएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिल्यै एकीन विवरण भन्न नसकिने जनाएको छ।
