नेपालद्वारा युएई ७ विकेटले पराजित

39

काठमाडौं : घरेलु टोली नेपालले त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा कप्तान रोहित पौडेलको अर्धशतकीय पारीको मद्दतबाट यूएईलाई ७ विकेटले पराजित गरेको छ।

मूलपानीस्थित क्रिकेट ग्राउन्डमा भएको खेलमा दोश्रो ब्याटिङ गरेको नेपालले ७ बल खेल्न बाँकी रहँदै ३ विकेटको क्षतिमा १४१ रनको विजयी लक्ष्य भेट्टाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ५१ रन बनाए। ४० बल खेलेका उनले चौका प्रहार गर्दै नेपाललाई ७ विकेटले विजय दिलाए। 

कप्तान पौडेललाई अर्को छेउबाट दह्रो साथ दिएका दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २३ बलमा १ छक्का र ३ चौकाको सहायताले ३४ रन बनाए।

नेपालका लागि ओपनर आसिफ शेख २७ बलमा १ छक्का र २ चौका हान्दै २३ रन बनाएर आउट भए भने अर्का ओपनर कुशल भूर्तेल १४ बलमा १ चौकाको मद्दले १४ रन बनाएर आउट भए।

त्यसपछि क्रिजमा आएका कुशल मल्ल ९ बल खेलेर २ चौका हान्दै ११ रन बनाएका वेला अली नासेरबाट रन आउट भए। 

त्यसपछि नेपाली पालीको बागडोर कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै नेपाललाई विजयी बनाए। 

यूएईका लागि निलांश केसवानी र अली नासेरले १/१ विकेट लिएका छन्। 

पहिले ब्याटिङ गरेको पाहुना यूएईले नेपालसामु जितका लागि १४१ रनको लक्ष्य दिएको थियो।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो।

युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको योगदान गरे। ​अली नासिरले ३२ रन जोड्दा कप्तान मोहम्मद वासीम १७ रनमा पेभेलियन फर्किए। आशिफ खान १५ तथा अलिशान शराफु ६ रनमा आउट हुँदा खालिद शाहले खाता नै खोल्न सकेनन्।

नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अविनाश बोहराले १/१ विकेट लिए।

आजको खेलबाट लेग स्पिनर श्याम ढकाल (मौसम) ले राष्ट्रिय टोलीबाट टी-२० अन्तरराष्ट्रियमा डेब्यू गरेका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालसहित युएई र हङकङ सहभागी छन्।