ईश्वरपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गल खण्डमा शनिबार भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका–४ बस्ने ३७ वर्षीय रञ्जित राम रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको कलैयास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीका अनुसार शनिबार मध्याह्न सर्लाहीबाट बर्दीवासतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी दुवै सवारी साधनमा सवार १२ जना घाइते भएका थिए। घाइतेमध्येका रञ्जितको मृत्यु भएको हो भने अन्य ११ जना घाइतेमध्ये सामान्य चोटपटक लागेका केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेहरूको लालबन्दी र कलैयाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।