लालबन्दी । आज राति १२ बजेदेखि अन्तराष्ट्रिय सीमा जोडिएका जिल्लाका सीमा नाका बन्द हुने भएका छन्।
विहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्ताराष्ट्रिय सिमाना जोडिएका जिल्लामा सीमानाका बन्द गर्न लागिएको हो।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टापूर्व सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
तदनुसार नै आइतवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि अन्ताराष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो।
घिमिरेले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमानाका जोडिएका जिल्लामा अन्ताराष्ट्रिय सीमानाका बन्द रहनेछन्। त्यसै बमोजिमको व्यवस्था गर्न/गराउन सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्छ।’
आयोगले सीमानाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। निर्वाचन अवधिभर सुरक्षा कडा बनाउँदै अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्बन गरिरहेको जनाएको छ।