मधेसमा यस वर्ष आँप उत्पादन बढ्ने संकेत

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ। फागुन महिना सुरु भएसँगै आँपका रूखहरूमा ढकमक्क फूल लागेकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा। रामचन्द्र यादवले बताएका छन्।

उनका अनुसार धान उत्पादनमा केही कमी देखिए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ। विशेषगरी धनुषा, सिराहा र सप्तरी जिल्ला आँप खेतीका लागि प्रख्यात मानिन्छन्। पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी क्षेत्रमा हजारौँ किसानले व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने मधेसको दक्षिणी भेगमा अझै पनि परम्परागत रूपमा आँप उत्पादन हुने गरेको छ।

मधेस प्रदेशमा उत्पादन हुने आँपको माग देशका प्रमुख सहरहरू काठमाडौँ र पोखरालगायतका बजारमा उच्च रहने गरेको छ। यही कारणले फूल लाग्नेबित्तिकै व्यापारीहरूले बगैंचा नै ठेक्कामा लिने गरेको स्थानीय किसानहरू बताउँछन्।

कृषि सम्बन्धी तथ्याङ्कअनुसार देशभर करिब ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ। तीमध्ये मधेस प्रदेशमा मात्र करिब २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती गरिन्छ।

कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी सिराहा जिल्लामा वार्षिक १ लाख ४ हजार ६ सय ७६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ भने सबैभन्दा कम पर्सा जिल्लामा ४ हजार ७ सय ३१ मेट्रिक टन उत्पादन हुने गरेको छ। देशभर उत्पादन हुने कुल आँपमध्ये करिब ७७।१ प्रतिशत मधेस प्रदेशमै फल्ने गरेको तथ्याङ्कले देखाउँछ।

यद्यपि आँपमा लाग्ने रोग तथा किराको जोखिम भने अझै कायम छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख यादवका अनुसार आँपको फूल झर्ने समस्या ‘मधुवा’ लगायतका किराका कारण बढी देखिन्छ। त्यसैले फूल लाग्नुअघि र साना दाना देखिन थालेपछि उचित समयमा औषधि प्रयोग गर्न आवश्यक हुने उनले बताए।

धनुषा जिल्लामा धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र चारनाथ नगरपालिकालगायतका क्षेत्रलाई आँप उत्पादनको ‘पकेट एरिया’ मानिन्छ। बटेश्वर क्षेत्रमा त हरेक वर्ष आँप मेलासमेत आयोजना हुँदै आएको छ।

धनुषाको नारायण नगरपालिका–५ का किसान ज्योति झाले यस वर्ष आँपमा राम्रो फूल लागेको बताए। उनले भने, “यसपालि फूल निकै लागेको छ, तर झर्ने सम्भावना पनि रहन्छ। मौसम अनुकूल रहे विगतभन्दा धेरै उत्पादन हुनेमा हामी विश्वस्त छौँ।”

त्यस्तै, महोत्तरीको मटिहानी नगरपालिका–३ का किसान रहमान कवारीले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपको फूल राम्रो लागेको बताए। उनले उत्पादन भएको आँप बजारमा उचित पहुँच नभएका कारण सड्ने डरले सस्तोमा बेच्नुपरेको विगतको अनुभव सुनाउँदै बजार व्यवस्थापनमा राज्यबाट सहयोगको अपेक्षा गरे।

कृषि विज्ञहरूका अनुसार समयमै रोग नियन्त्रण, उचित स्याहार र अनुकूल मौसम भए यस वर्ष मधेस प्रदेशमा आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै