सप्तरी : १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले आज आठ वर्षको कैद सजाय सुनाएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले ५० हजार क्षतिपूर्ति, ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ।
विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५) लाई विभिन्न प्रलोभन देखाई ती किशोरले २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए।
पीडितकी आमाले घटनालगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो।
आरोपित किशोर २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।