राजविराज । सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकम निकासा गरिदिएबापत २० प्रतिशत कमिसन (घुस) माग गरेको सूचना तथा उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। उक्त उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सवारी चालक भोगेन्द्र यादवको साथबाट घुसबापत लिएको ३३ हजार ३५० र स्रोत नखुलेको रु. ४८ हजार ७० गरी जम्मा ८१ हजार ४२० नगद बरामद गरिएको छ।
यसैगरी, चालक यादवको साथबाट १ लाख २९ हजार रुपैयाँ बराबरको चार थान चेक र एक थान मोबाइल तथा निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेक र एक थान मोबाइलसमेत बरामद भएको अख्तियारले उल्लेख गरेको छ।
नियन्त्रणमा लिइएका डा. दास र चालक यादव दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।